रौतहट । रूवी साहको हत्यामा संलग्न रहेको आरोप लागेका लक्ष्मण पासवानलाई प्रहरीले पक्राउ गरेको छ। माधवनारायण नगरपालिका–६, माधोपुरबाट पश्चिमतर्फको बाटोमा आफ्नै शरीरमा आगो लगाएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो । एक बन्द सुटकेसभित्र मृत भेटिएकी २६ वर्षीया रुवी साहको हत्याको आरोप लागेका लक्ष्मण पासवानले आफैँलाई आगो लगाएर शरीर जलाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार, गम्भीर घाइते अवस्थामा रहेका पासवान लाई तत्काल उपचारका लागि गौर अस्पताल लगिएको छ।
शरीरमा आगो लगाउनुअघि उनले एउटा भिडियो सन्देश पोष्ट गरेको पाइएको छ । उक्त भिडियोमा उनले रुवीको हत्या गरेको स्वीकार गरेका छन् । आफ्नो शरीरमा आगो लगाउनुअघि बनाइएको भिडियोमा लक्ष्मणले गम्भीर मानसिक तनावमा रहेको देखाएका छन् ।
उनले भनेका छन् ‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो ज्यान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ, १०/१५ वर्ष सजाय भोग्नुपर्छ। ।
भिडियोमा उनले रुवीसँगको लामो समयदेखिको प्रेम सम्बन्धबारे पनि खुलासा गरेका छन् । उनीहरूले स्कुलको बेलादेखि नै प्रेम गरेको र अदालतमा गएर विवाहसमेत गरेको उनले बताएका छन् । तर, आफू गरिब भएकाले पारिवारिक तनावका कारण यो दुखद घटना भएको उनको भनाइ छ ।
के थियो घटना:
गत शनिबार राति गौर–सिरसिया सडकखण्डमा एउटा बेवारिसे सुटकेसभित्र रुवीको शव भेटिएको थियो । भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बस्थिन् र आफ्नो ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रुवीको हत्या गौरस्थित एक घरमा गरिएको र रिक्सामा राखेर शव फालिएको खुलेको छ । रुवीको माइत र लक्ष्मणको घर एउटै टोलमा भएकाले उनीहरूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो ।
हत्याको मुख्य आरोपी मानिएका लक्ष्मण पासवान आफ्नो शरीरमा आफैँले आगो लगाएको अवस्थामा आज बिहान माधव नारायण नगरपालिका–६ स्थित नहरअगाडि भेटिएका छन् । उनलाई गम्भीर अवस्थामा प्रहरीले नियन्त्रण लिएर अस्पताल पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । यो घटनाले प्रेम सम्बन्धमा आएको जटिलता र त्यसले निम्त्याएको त्रासपूर्ण परिणामलाई उजागर गरेको छ ।
