काठमाडौं । हरितालिका तीजको व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिलाहरू सोमबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल तृतीयाका दिन महिलाहरूले निराहार व्रत बस्ने परम्परा भएकाले त्यसअघिल्लो दिन, अर्थात् द्वितीयाको साँझ दर खाने चलन रहेको छ। दरलाई तीजको व्रतको पूर्वतयारी को रूपमा लिइन्छ ।
परम्परा अनुसार दरका लागि माइतीहरूले आफ्ना चेलीलाई घर बोलाउने वा लिन जाने गर्छन् । दिदीबहिनी एकैठाउँ भेला भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध खानेकुरा सेवन गर्ने परम्परा रहिआएको छ। कर्मघरमै रहेका महिलाहरूले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् ।
धार्मिक मान्यताअनुसार दरका रूपमा सात्विक भोजन ग्रहण गर्नुपर्छ । विशेषगरी दूधबाट बनेको खिर, ढकने, चाम्रे, सेलपुरी, पुवा, गुँदपाक तथा फलफूल खाने चलन छ। यस्तै मौसमअनुसारका तरकारी र अचार पनि दरमा प्रमुख मानिन्छन् ।
दरले महिलालाई व्रत बस्ने दिन शारीरिक रुपमा आडिलो बनाउँछ भन्ने विश्वास रहिआएको छ। दर दुई भाग रात नपुग्दै सक्नुपर्ने परम्परा रहेको धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले बताएका छन् ।
तर पछिल्लो समय दरका नाममा पार्टी प्यालेसमा भोज आयोजना गर्ने र तामसिक पदार्थ खाने प्रचलन बढेको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।



