काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी दिनुभएको छ ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरि सोमबार स्वदेश फर्कनुभएका परराष्ट्रमन्त्री श्रेष्ठले त्रिभुवन विमास्थलमा पत्रकार सम्मेलन गर्दै रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु लगाएतका नाकाहरु सञ्चालनमा आइसकेको भन्दै अन्य १४ वटा नाका खोल्न चीन तयार भएको जानकारी दिनुभएको हो ।
नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उहाले बताउनुभयो ।
त्यस्तै उहाले विआरआइलाई अन्तिम रुप दिइ कार्यान्वयन गर्ने बिषयमा छलफल भएको जानकारी दिनुभयो । नेपालको काठमाडौं र चीनको ल्हासाबीच सिधा बससेवा पुन सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको उहाको भनाइ छ ।
मन्त्री श्रेष्ठले आफ्नो भ्रमण दुई देशबिचको सम्बन्धन बलियो बनाउन महत्वपूर्ण भएको र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको जिकिर गर्नुभयो । चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीनतर्फ जानुभएको थियो ।



