बीरगञ्ज । जनमत पार्टीको भातृसंगठन महिला जनमत संघ पर्साको अगुवाईमा पार्टीका महिला तथा पुरुष कार्यकर्ताहरुले घण्टाघर चोकस्थित सडकमा खाली घैटो र बाल्टिन राखेर प्रदर्शन गरेका छन ।
‘जल सत्याग्रह’ नारा लेखिएको ब्यानरसहित सडक प्रदर्शनमा उत्रिएकाहरुले खानेपानीको संकट समाधानका लागि तीन वटै तहका सरकारसंग खानेपानीको मागपनि गरे ।
प्रर्दशनमा सहभागीहरुले तीनै तहको सरकार आँखा खोल, पानी दे कि मारी दे , पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गर लगायतका नारापनि लगाएका थिए।
प्रदर्शनमा सहभागी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बीरगञ्ज महानगरका साथै पर्सा जिल्लाका विभिन्न पालिकामा अहिले चापाकलहरु सुकेर त्राहीमाम् हुदाँपनि संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले ध्यान नदिएकाले बाध्यभएर आन्दोलनमा उत्रिनु परेको बताए।
बीरगञ्जमा गर्मीका बेला विगत ३ वर्षदेखि निरन्तर खानेपानीको संकट हुदैं आएपनि तीन वटै तहका सरकारले दीर्घकालीन समाधानका लागि ध्यान नदिएको उनले बताए । उनले भने,‘ तीन वटै तहका सरकार अन्धो,बहिरो भएर बीरगञ्जलाई अपहेलित गरिरहेका छन् ।
बीरगञ्जका मान्छेलाई पानी बिना मार्ने प्रयास गरिरहेको छ । तसर्थ तीन तहकै सरकार गम्भीर भएर बीरगञ्जलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेजमार्फत पानीको समस्या समाधान गरोस् ।’
मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भएको भन्दै उनले पानीको समस्या समधान नगरिए आँफुहरुले मुख्यमन्त्रीको कार्यालयपनि घेराउ गर्ने चेतावनी उनले दिए ।
यसपालिपनि गर्मी याम सुरु भएसंगै बीरगञ्ज महानगरका सबै वडा तथा पर्र्सा जिल्लाका विभिन्न पालिकामा चापकलहरु सुकेर खानेपानीको संकट हुदाँ यहाँको जनजीवन नै अस्तव्यस्त बनेको पुगेको छ ।
महिला जनमत संघ पर्सा कि जिल्ला अध्यक्ष अन्जना गुप्ताको नेतृत्वमा सम्पन्न कार्यक्रम केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद,रम्भा मिश्रा, श्याम शंकर चौरसिया,अनिता रौनियार,नजमा खातुन,राजेश चौरसिया,प्रदेश सदस्यहरु राजनरायण मिश्र,बृजेस्वर चौधरी,बीरगञ्ज महानगर अध्यक्ष महादेव शर्मा,उपाध्यक्ष केदार पटेल,युवा दस्ताका जिल्ला संयोजक मनोज साह, लगायतक नेता कार्यकर्ता हरु को संगै स्थानिय सर्वसाधारण हरुको पनि सहभागिता रहेको थियो।
