काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समय सापेक्ष बनाउन संविधान संशोधनको नेतृत्व पार्टीले गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको र नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा शुक्रबारबाट वीरगञ्जमा सुरु भएको प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उपसभापति खड्काले कांग्रेसले समानुपातिक र समावेशितालाई थप बलियो बनाउन चाहेको बताए । त्यसका लागि र्संविधान संशोधन कांग्रेसको नेतृत्वमा गर्नुपर्छ भनेर आफूहरूले भनिरहेको उनको भनाइ थियो ।
‘कांग्रेसले समानुपातिक र समावेशितालाई कांग्रेसले मानेन भनेर भ्रम छर्ने काम भइरहेको छ, त्यसलाई चिर्नु कांग्रेसले आफ्नो नेतृत्वमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागिरहेको छ,’ उपसभापति खड्काले भने, ‘संशोधनमार्फत जातजाती, भाषभाषी, पिछडिएको क्षेत्र र भूगोलका अधिकारको विषयमा देखिएको गाठो फुकाउने नेतृत्व कांग्रेसले गर्नेछ ।’
उनले कांग्रेसका बारेमा प्रचार भन्दा कुप्रचार बढी भइरहेको भन्दै, त्यसलाई चिर्न केन्द्र र प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम गरिरहेको जानकारी दिए ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकोको प्रमुख समेत रहेका खड्काले अहिलेसम्म विभिन्न समयमा कांग्रेसले गरेका काम, कांग्रेसको नेतृत्वमा भएका उपलब्धीलाई प्रतिष्ठानले लिपीबद्ध गर्ने काम सुरु गरेको जानकारीसमेत दिए ।
कार्यक्रममा कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादवले मधेसमा कांग्रेसको पक्षमा जनमत बढ्दो रहेको बताए । उनले कांग्रेसलाई मधेस प्रदेशमा अझ सशक्त बनाउनका लागि प्रशिक्षण कार्यक्रमले सहयोग पु¥याउने बताए । शुक्रबार र शनिबार चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेशका ८ जिल्लाका पार्टी र भ्रातृसंस्थाका प्रतिनिधि गरी दुई सय ८० जना बढीको सहभागीता रहने कांग्रेसको मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिषकुमार गुप्ताले जानकारी दिए ।
अहिलेको प्रशिक्षणमा भाग लिएकाहरूले प्रशिक्षणमा सिकेका विषयमा गाँउगाँउमा गएर प्रशिक्षण दिने कांग्रेसको मेधस प्रदेशका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख चन्द्रशेखर प्रसाद यादबले जानकारी दिए ।



