काठमाडौं । देशका विभिन्न भागमा लगातारको वर्षासँगै आज केही साना नदीहरूमा आकस्मिक बाढीको जोखिम देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लामा मध्यम र केहीमा सामान्य जोखिम रहने अनुमान गरिएको छ ।
मध्यम जोखिम अन्तर्गत इलाम, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र तिनीहरू आसपासका क्षेत्र पर्दछन् । यी जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, सामान्य जोखिमको सूचीमा झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दाङ, रुकुम पूर्व–पश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली लगायतका जिल्लाहरू परेका छन् ।
महाशाखाले ती क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । नदी आसपासका बस्ती, कृषि क्षेत्र र पुल–पुलिया नजिकका स्थानमा विशेष सतर्कता अपनाउन भनिएको छ । जलस्रोत नजिकका क्रियाकलाप केही समयका लागि स्थगित गर्न र स्थानीय प्रशासनको सूचनालाई पालना गर्न समेत महाशाखाले सुझाव दिएको छ ।
