काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित सहकारीमा दोश्रो तहको नियामक आवश्यकता र औचित्य बिषयक छलफल कार्यक्रममा मन्त्री अधिकारीले तीनखम्वे अर्थनीतिको महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र केहि व्यक्तिको बदमासीका कारण बद्नाम हुन पुगेको भन्दै यसको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताउनुभएको हो ।
उहाले सहकारी सम्बन्धी एकीकृत ऐन बनाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । अहिलको अवस्थामा सहकारी समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्ने आवश्यकता देखिएको उहाको भनाइ छ । उहाले नेपाल जस्तो सानो मुलुकमा धेरै संख्यामा सहकारीको जरुरी छ वा छैन भन्ने प्रश्न देखिएको र भएकालाई पनि मर्ज गर्नुपर्ने पनि देखिएको बताउनुभयो । मन्त्री अधिकारीले संस्था वा व्यक्ति अनुशासित हुन नसक्दा सहकारीमा समस्या देखिएको धारणा राख्नुभयो । केहि सहकारीको कमजोरीका नाममा सहकारी नै गलत हो भन्ने मान्यतालाई स्वीकार गर्न नसकिने उहाले बताउनुभयो ।



