नवलपरासी । नवलपरासी र चितवन आसपासका क्षेत्रमा अविरल वर्षाका कारण नारायणी नदीको जलसतह खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको डण्डा र दुम्कौली क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
पछिल्ला छ घण्टामा नवलपरासीमा मात्र १६० मिलिमिटर वर्षा मापन गरिएको छ । वर्षाका कारण क्षेत्रका खोलानालामा पानीको बहाव तीव्र बनेको छ । कावासोती र गिरिउवारी आसपासका खोलामा पनि आकस्मिक बाढीको जोखिम रहेकोले उच्च सतर्कता आवश्यक रहेको महाशाखाले बताएको छ ।
गएराति मध्यम वर्षा भएको काठमाडौं उपत्यकामा आज बिहान पानी रोकिए पनि दिउँसो पुनः वर्षाको सम्भावना रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली भइरहेकाले विभिन्न भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
विशेष जोखिम भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्हले चेतावनी दिएका छन् । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीको पूर्वी भागमा मनसुनी वायु सक्रिय रहेको छ भने पश्चिमतर्फ स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।
