बारा । बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत नजिकै सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन सदस्य घाइते भएका छन् । सोमबार बिहान करिब १० बजे गन्जभवानिपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१२८ प ९४५० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ पछ्याइरहेको ना.५ प. ६२९४ नम्बरको अर्को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा ना.५ प. ६२९४ नम्बरको मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१८ निवासी ४२ वर्षीय जिउ हुसेनलाई खासै चोट नलागेपनि उनकी श्रीमती ३५ वर्षीया सहारुन खातुनको टाउको र दाहिने खुट्टामा सामान्य चोट लागेको छ । उनीहरू सँगै सवार उनकी ६ वर्षीया छोरी नगमा खातुनको पेट तथा शरीरको भित्री भागमा र ४ वर्षीया छोरी सदमा खातुनको निधारमा चोट लागेको छ ।
तीनै घाइतेको हाल प्रादेशिक अस्पताल, कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षकको कमान्डमा टोली खटिएको थियो । दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा ठक्कर दिने प्रदेश २–०३–०१२८ प ९४५० नम्बरको मोटरसाइकलका चालक, बारा कलैया उपमहानगरपालिका–२६ निवासी २५ वर्षीय काशीप्रसाद यादव पनि सामान्य घाइते भएका छन् र उनी पनि उपचारमा छन् । घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
