वीरगञ्ज । भारतलगायत नेपालका केही स्थानमा कोभिड–१९ का संक्रमित बिरामी फेला परेपछि पर्सा जिल्लामा सतर्कता बढाइएको छ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बिहीबारको बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रका नाकाहरूमा निगरानी र जाँच प्रणाली थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको थियो । बैठकपछि प्रजिअ अर्यालले जानकारी दिँदै भने, “भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य जाँचमा कडाइ गरिनेछ । यसका लागि वीरगञ्ज नाकामा रहेको हेल्थ डेस्क लाई थप जनशक्ति र स्रोतसाधनसहित सशक्त बनाइनेछ ।”
बैठकले जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । साथै, जटिल प्रकृतिका कोभिड शंकास्पद बिरामीहरूलाई अन्यत्र रिफर नगरी स्थानीय अस्पतालमै उपचारको प्रबन्ध मिलाउने निर्णय पनि गरिएको छ ।
सङ्क्रमण नियन्त्रणका लागि आवश्यक पर्ने मास्क, सेनिटाइजर, अक्सिजनलगायत उपकरणहरूको पर्याप्त भण्डारण गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । साथै, आरडिटी, पिसिआर परीक्षण कीट र खोपको व्यवस्था गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय समेत भएको छ ।
बैठकले जनस्वास्थ्य सुरक्षाका लागि सबै स्थानीय तहलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, स्वास्थ्य सावधानी अपनाउन र जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आह्वान गरेको छ ।
