वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३२ स्थित टेढा गाउँमा बुधबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । मृतक १५ वर्षीय शिवशंकर माझी सोही स्थानका भगन माझीका छोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान करिब ४ बजेतिर घरमै सुतिरहेका बेला शिवशंकरलाई अचानक चट्याङ लागेको थियो । चट्याङ लागेपछि उनले सास फेर्न गाह्रो महसुस गरे र घरबाट निस्किए । करिब १४–१५ कदम अघि बढेपछि उनी लडेर बेहोस भएका थिए ।
घटनास्थलमै पुगेका गाउँका स्वास्थ्यकर्मीले उनलाई जाँच गर्दा शिवशंकरको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्जमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
