वीरगञ्ज । भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको अवस्थामा रक्सौल मैत्री पुल नजिकैबाट सीमा सुरक्षा बल (SSB) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरू नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्ने प्रयासमा थिए।
पक्राउ परेका चिनियाँ नागरिकहरू बारम्बार आफ्नो भनाइ परिवर्तन गरिरहेका छन् र हिन्दी, नेपाली, अङ्ग्रेजी तथा चिनियाँ भाषा प्रयोग गरिरहेका छन्, जसले उनीहरूप्रति थप शंका उब्जाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू पाकिस्तान मा रहेका केही व्यक्तिसँग सम्पर्कमा रहेको जानकारी सुरक्षा निकायले पाएको छ।
सूचनाअनुसार, ती व्यक्तिहरू पछिल्लो एक सातादेखि काठमाडौंमा थिए। उनीहरूले भारत छिर्ने प्रयोजनबारे सोधपुछ गर्दा केही खुलाएका छैनन्। हाल उनीहरूलाई गोप्य स्थानमा राखी थप अनुसन्धान भइरहेको छ।
भारतले हालै सीमा क्षेत्रमा ‘अपरेशन सिन्दूर’ सुरु गरेसँगै रक्सौल सीमामा रेड अलर्ट जारी गरिएको छ। त्यसयता, नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक व्यक्तिको कडाइका साथ परिचय जाँच भइरहेको छ। यही सुरक्षा कडाइका कारण उक्त समूहको गतिविधि शंका लागेर पक्राउ गरिएको बताइएको छ।
यस घटनाले नेपाल–भारत सीमाको सुरक्षा चुनौती र अन्तर्राष्ट्रिय आपराधिक गतिविधिमा चिनियाँ नागरिकहरूको संलग्नताको आशंकालाई थप गम्भीर बनाएको छ।
