काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् । निवेदनमा उनले रविलाई कानुनविपरीत थुनामा राखिएको जिकिर गरेकी छन् ।
यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । त्यसपछि सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतका सम्बन्धित कागजात माग गरिसकेको छ ।
सुप्रिम सहकारी घोटाला सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गएको चैत २२ गते रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
