काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आइतबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरुले माइतिघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन् ।
यसअघि मध्यान्हपछिमात्रै प्रदर्शनमा उत्रिएका शिक्षकहरु आइतबार भने बिहानैबाट प्रदर्शनमा सहभागी भएका थिए । उनीहरु ले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन् ।
सो क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनुशाासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षक हरुलाई आग्रह गर्नुभयो । महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुदै आएको छ भने शैक्षिक गतिविधि ठप्प भएको छ ।
