हेटौँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग अन्ततः पुनः सञ्चालनमा आएको छ । करिब छ महिनापछि उद्योग ले पुनः काम थालेको हो । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, आवश्यक यन्त्र मर्मत र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि चुनढुङ्गा प्रशोधन थालिएको छ ।
अब एक–दुई दिनमै सिमेन्ट उत्पादन पनि सुरु हुने बताइएको छ । उद्योगले सुरुमा दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ । तर, महाप्रबन्धक कर्णले उद्योगका पुराना यन्त्रहरू वि.सं. २०३३ मा जडान गरिएका र अत्यन्तै जिर्ण भइसकेको भन्दै नयाँ यन्त्र आवश्यक रहेकोमा जोड दिनुभयो ।
तर, विद्युत् महसुल तिर्ने र कर्मचारीको पारिश्रमिक व्यवस्थापन गर्नमै कठिन भइरहेको अवस्थामा नयाँ उपकरण खरिद गर्नु चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । यद्यपि, सरकारी सहयोगको आशा राख्दै उहाँले समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
