ए न्यूज डेस्क, रौतहट । रौतहट जिल्लाको गरुडा नगरपालिका गरुडाको तरकारी बजारमा शुक्रवार विहान भिषण आगलागि मा परेर सात वटा घर पूर्ण रुपमा जलेर लाखौंका क्षति भएका छन् ।
गरुडा नगरपालिका वडा नम्वर ४ तरकारी बजारमा आज विहान ९.४० बजेको समयमा खाना पकाउने क्रममा सल्किएको आगो खरले छाएको छानाको घरमा संचालन भएका पसलमा आगोबाट सात वटा घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिव १३ लाख २० हजार बराबरको सम्पती क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले संचालन गरेको मासु पसलमा १ लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख गरेर १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रारम्भीक रिपोर्ट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिए ।
आगो लाग्ना साथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमाण्डमा खटिएका प्रहरी टोली र स्थानीय बासिन्दाहरु आगो निभाउन प्रयास गरिएपनि उक्त पसल भित्र रहेका ग्यास सिलिण्डर पड्केर आगो नियन्त्रणमा भन्दा बाहिर गएपछि गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण गरिएको डिएसपी रायले बताए ।
करिव एक घण्टामा आगो माथि पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएको जानकारी दिदै डिएसपी रायले आगलागि भएको कारण बारे प्रहरीले आवश्यक अनुसन्धान भईरहेको बताए ।
