वीरगञ्ज । बारा प्रहरीले लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा १५० किलो गाँजासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका ४२ वर्षीय बुद्ध घलान, ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीरबहादुर डम्वा र मकवानपुरको हेटौडा उपमहानगरपालिकाका २७ वर्षीय सोमलाल पाख्रीन रहेका छन्।
ईलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले विशेष अपरेशन चलाएर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार, उनीहरूलाई जितपुरसिमरा उपमहानगरपालिका – ४ औराहास्थित दुधौरा खोलामा टाउकोमा बोकेर रतनपुरबाट बकुलियातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरी सहायक निरीक्षक प्रदीपप्रसाद पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई गाँजा जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको थियो। पछि उक्त पदार्थ ६ बोरामा रहेको र तौल गर्दा अन्दाजी १५० किलो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी डीएसपी पण्डितले बताए ।



