काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद दिपक गिरीलाई बोल्न समय दिनुभएको थियो ।
गिरीले सहकारी प्रकरणमा उजुरी परेका व्यक्तिलाई नै गृहमन्त्री बनाउदा अनुसन्धान प्रभावित हुने भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो । तत्कालिन अवस्थामा लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कले बिभिन्न सहकारीबाट ऋण लिएर नतिरेको र सहकारी बचतकर्तालाई ठगी गरेको उहाले बताउनुभयो । उहाले स्वार्थ बाझिने गरि लामिछानेलाई किन गृहमन्त्री बनाउनुपर्यो भनेर प्रश्न गर्नुभयो । गिरीले अहिलेको अवस्थामा एउटै बिकल्प लामिछानेको राजीनामा भएको जिकिर गर्नुभयो ।



