काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले आन्दोलनमा जाने निर्णय गर्दै १५ बुँदे निर्णय सार्वजनिक गरेको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघले आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजन गरिएको जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार विगतदेखि उठाउँदै आएका मागका साथै समसामयिक शैक्षिक तथा पेसागत मागहरू समेटेर भदौदेखि चरणबद्ध आन्दोलन सञ्चालन गरिनेछ।
महासंघले सरकारले शिक्षकका जायज मागप्रति गम्भीर नबने आन्दोलनको कार्यक्रम सार्वजनिक गरी कार्यान्वयनमा जाने संकेत दिएको छ। आन्दोलनको विस्तृत कार्यतालिका भने विस्तारित कार्यादलीय बैठकले तय गर्ने जनाएको छ।
