वीरगञ्ज । वीरगञ्जमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगञ्ज महानगर पालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो । चैतको अन्तिम शुक्रबार २९ गतेदेखि ३१ गतेसम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको छ । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो । रात्रि बजारले यहाँको बजार चलायमान बन्ने मेयर सिंहले बताउनुभयो ।
रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ ।
महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ ।
ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको हो । रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।
