वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटनामा परेको छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज तर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको हो ।
बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार, बसका सबै यात्रुहरू सुरक्षित रहे भने स्कुटर चालक घाइते भएका छन् । उनलाई उपचारका लागि नजिकको अस्पताल पठाइएको छ । दुर्घटनाको सूचना पाएलगत्तै अमलेखगञ्जबाट वरिष्ठ प्रहरी निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
