वीरगञ्ज । १६ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका दुई अभियुक्त पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत कुर्मी रहेका छन् ।
तेलीविरुद्ध २०६४ वैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी दिएकी थिइन् । उनले चलाएको ना.१ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिँदा राजेन्द्र साह सोनारको मृत्यु भएको थियो । माघ २७ गते पक्राउ परेका उनलाई ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै, आदेशप्रसाद कुर्मीको जाहेरीका आधारमा चन्दु राउत कुर्मी पक्राउ परेका हुन् । उनले चलाएको ना.३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २०६४ माघ ३ गते होरिल राउत कुर्मीको मृत्यु भएको थियो । माघ २८ गते पक्राउ परेका उनलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी डीएसपी किशोर लम्सालले जानकारी दिए ।
