वीरगञ्ज । पर्सा प्रहरीले २० वर्षदेखि फरार लागूऔषध मुद्दाका दोषी चन्दन कुमार रौनियारलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ नवगामा बस्ने ४१ वर्षीय रौनियारलाई बिहीबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
२०४१ असार १३ गते पर्सा जिल्ला अदालतले उनलाई लागूऔषध मुद्दामा २ वर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । तर, फैसला कार्यान्वयन हुनुअगावै रौनियार फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा उनलाई वीरगञ्ज-१६ स्थित नगवाबाट नियन्त्रणमा लिएको जनाएको छ । लामो समयपछि फरार अभियुक्तलाई पक्राउ गरेसँगै कानुनी प्रक्रिया अघि बढाइने पर्सा प्रहरीले जनाएको छ ।



