काठमाडौं । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनामा ६७ जनाकै मृत्यु भएको छ । हिजो वाशिङ्टन डीसीको विमानस्थलमा अवतरण गर्न लागेको यात्रुवाहक विमान सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो ।
दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना सबैको मृत्यु भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका समाचार संस्था एपीले जनाएको छ । अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा घातक हवाई दुर्घटना हो । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाको मृत्यु भएको थियो ।
त्यस्तै सन् २००९ को फेब्रुअरी महिनामा कन्टिनेन्टल एअरलाइन्सको यात्रुवाहक विमान न्यूयोर्कको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा घरमा गएर जोतिँदा झण्डै ५० जनाको मृत्यु भएको थियो । यसैबीच, विमान दुर्घटनास्थलमा ‘ब्ल्याक बक्स’ भेटिएको छ ।
अमेरिकाको राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) का अनुसार विमानको ब्ल्याक बक्समार्फत के–कसरी विमान दुर्घटना भयो भन्नेबारे जानकारी पाउन सहज हुनेछ । एनटीएसबीका अधिकारीले दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट एक महिनामा आउने बताएका छन् । दुर्घटनाको कारण खोज्न धेरै विधिबाट जाँच चलिरहेको छ ।



