काठमाडौं । शहिद सप्ताहको अवसरमा मंगलबार शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना गरिएको छ । शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गरेको काठमाडौको शोभाभगवतीमा मंगलबार बिहान आयोजित श्रद्धाञ्जली सभामा शहिदहरुले पुर्याएको योगदानको स्मरण गरिएको थियो ।
काठमाडौं महानगरले आयोजना गरेको श्रद्धाञ्जली सभाका क्रममा दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिए को थियो । शहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले प्रजातन्त्र प्राप्तिका लागि शहिदहरुले खेलेको भूमिका र सामाजिक रुपान्तरणमा पुराएको योगदानको चर्चा गर्नुभयो ।
डंगोलले सहिदले देखाएको निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्ने उहाले बताउनुभयो । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए ।
निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफलमा र ९ दिनपछि अर्थात् माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । हरेक बर्ष माघ १० देखि १६ गते सम्म शहीद सप्ताह मनाउने गरिन्छ ।
