काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकारिता क्षेत्र लोकतन्त्रको वाहक र संरक्षक भएको बताउनुभएको छ । सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले पत्रकारिता लोकतन्त्रको ‘धर्ममिटर’ पनि भएको बताउनुभयो ।
संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उहाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । स्वतन्त्र, व्यवसायिक, निश्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्ने उहाले बताउनुभयो । उहाँले कुनै पनि तवरले पत्र कारिताको स्वतन्त्रता र व्यवसायिकतामाथि र निश्पक्ष रुपले कलम चलाउन पाउने, बोल्ने पाउने सञ्चारगृह र सञ्चारकर्मीको आधारभुत अधिकारको सुनिश्चितता हुने विश्वास दिलाउनुभयो ।
पत्रकारिता पनि मर्यादित, व्यवस्थीत र सत्यमा आधारित हुनुपर्नेमा मन्त्री लेखकको जोड थियो । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता हनन्मा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराउनुभयो ।
पत्रकारमाथि भौतिक सुरक्षा बढ्दै गएको अवस्थामा पत्रकारको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । अध्यक्ष शर्माले पत्रकारले समाचार लेखेकै आधारमा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
