बारा । बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिला र एक युवकको मृत्यु भएको छ भने एक बालिका र एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ कलैया र आदर्शकोतवालमा भएका दुर्घटना मा २ जनाको मृत्यु भएको हो ।
कलैया उपमहानगरपालिका-४ स्थित नेपाल बैंक अगाडि तेल बोक्ने ट्यांकर (ना ४ ख ४१८६) ले मोटरसाइकल (ना ४७ प ५९९७) लाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार रौतहट बृद्धावन नगरपालिका-३ की ४० वर्षीया बबिता ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनकी छोरी ११ वर्षीया मोनी ठाकुरको परवानीपुरस्थित एलएस अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्यांकर चालक फरार भएका छन्, र प्रहरी उनको खोजीमा जुटेको छ। त्यस्तै, आदर्शकोतवाल गाउँपालिका-६ लौकाहामा पिकअप भ्यान मधेस प्रदेश ०३ ००१ च ६७८८ ले भारतीय नम्बर प्लेटको मोटरसाइकल बीआर ३० एजे ३५२७ लाई ठक्कर दिँदा भारत बिहारका २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार रौतहट गौर नगरपालिका-१ का २२ वर्षीय राजन दासको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएको भ्यान र चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालक पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ निवासी २२ वर्षीय दिलिप माझी रहेको र उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
