जनकपुर । जनकपुरस्थित मधेस भवन नजिक आज बिहान भएको मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ । लक्ष्मिनिया गाउँपालिका-१ निवासी यादव कार्यालय जान क्रममा विपरीत दिशाबाट आइरहेको विद्यार्थीले चलाएको मोटरसाइकलको ठक्करमा परेका थिए ।
जनकपुर प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, टाउकोमा गम्भीर चोट लागेका यादवलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश नम्बरको २-०२- ००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
