काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बयानका लागि काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनीमाथि मुद्दा परेकाले काठमाडौं अदालतमा हाजिर हुन लागेका हुन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलपको मुद्दामा जिल्ला अदालत, कास्कीबाट गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै हाजिर हुन लागेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ ।
