काठमाडौ । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगोमा जलेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बीबीसीले लस एन्जलस काउन्टिका अग्नि नियन्त्रण कार्यालय प्रमुख एन्थोनी म्यारोनलाई उधृत गर्दै आगो १० हजार एकडमा फैलिएको उल्लेख गरेको छ ।
म्यारोनले आगो नियन्त्रणमा आउन नसकेको बताएका छन् । उनले भनेका छन्, ‘घटनामा पाँच नागरिकको मृत्यु भएको छ । कम्तीमा एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । एक हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् ।’ अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न एरिजोनासहित क्यालिफोर्नियाबाहिरबाट पनि अधिकारीहरू आगलागी क्षेत्रमा पुगेका छन् ।
लस एन्जलसका जंगलमा आगो फैलिरहेपछि संकटकाल घोषणा गरिएको छ । त्यस क्षेत्रका आधा दर्जनभन्दा बढी विद्यालयमा क्षति पुगेको छ । लस एन्जलसकी मेयर करेन बासले हवाई माध्यमबाट आगो निभाउने कार्य भइरहेको बताइन् । उनले समाचार एजेन्सी एपीसँग भनेकी छन्, ‘अझै पनि अनियमित हावा चुनौतीका रूपमा रहेको छ । आगलागीबाट हलिउडका कैयौँ संरचना मा पनि क्षति पुगेको छ ।
