काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की अदालतमा दायर भएको मुद्दामा प्रतिवादी हरूको थुनछेक बहस आज पनि जारी छ गत मंगलबारदेखि उक्त मुद्दाका आरोपीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामा पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने भन्नेबारेमा पक्ष विपक्षमा बहस भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल, मिना गुरूङ, आरती गुरूङ र कृष्णबहादुर गुरूङ मुद्दाका प्रतिवादी छन् । सुरूमा सरकारी वकिल त्यसपछि जाहेरवाला सहकारी पीडिततर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट मंगलबार बहस सकिएको छ । त्यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फका वकिलहरूले पनि बहस गरिसकेका छन् । रविका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापा (क्षेत्री) ले बहस गरेका थिए । आज पनि अधिवक्ताहरूले बहस गर्नेछन् ।
पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंतर्फबाट वकिलहरूले बहस गरेका थिए । जोशीको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । अब चार जना प्रतिवादीहरू कृष्णबहादुर गुरूङ, आरती गुरूङ, मिना गुरूङ र रामप्रसाद खनालका वकिलहरूले आजदेखि बहस गर्नेछन् ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
