काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालय पर्सामा उनको औपचारिक बयान सुरु भएको हो ।
बयान सकिएपछि लामिछानेलाई फेरि कास्की पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कास्की प्रहरीको हिरासत मा रहेका लामिछानेलाई हिजो पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं ल्याई सिमरा पुर्याइएको थियो ।
त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगञ्ज लगिएको थियो । लामिछानेलाई पर्सा लग्ने जानकारी पाएपछि उनका समर्थकहरूले सिमरामा प्रदर्शन गरेका थिए । सानो पाइला बचत सहकारीको झन्डै एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना विरुद्ध उजुरी परेपछि पर्सा जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
