काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा परेको हो ।
दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर ४ मा आइपुग्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा रहेका आठ जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानीय ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महँगी देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।
घाइते हुनेहरूमा सोही ठाउँको ३० वर्षीय राधा महरा, २ वर्षीय आर्यन महरा, २५ वर्षीय देव कुमारी महरा, ७ वर्षीय ऋतिक महरा र ६० वर्षीय कन्या देवी महरा रहेका छन् ।
घाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।
