काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमाले माथि चौतर्फी आक्रमण हुन थालेको बताउनुभएको छ । एमालेले काठमाडौंमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरेपछि चौतर्फी आक्रमण हुन थालेको र एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेको बताउनुभएको हो ।
बिभिन्न नाममा राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरण सभा आयोजना गरेको उहाले बताउनुभयो । उहाले देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षडयन्त्र भएको उहाँले बताउनुभयो ।
नेकपा एमालेलाई पटक पटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पङ्ती चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उहाँले बताउनुभयो । एमालेसँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उहाँले त्यसमा एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।
एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उहाँले चुनौती दिनुभयो । सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौँ भन्ने दल एमाले भएको स्मरण गराउँदै उहाँले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताउनुभयो ।
त्यसको दोष समेत अहिले एमाले माथि लगाउने काम भइरहेको पोखरेलले सुनाउनुभयो । एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उहाँले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएको स्मरण गराउनुभयो ।
