जनकपुर । सप्तरी प्रहरीले सोमबार राति ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ । सप्तरीको राजगढ गाउँपालिका-४ बाट बालुवा र गिटीले भरिएको ट्रकबाट १७ क्विन्टल गाँजा फेला परेको हो ।
गाँजा पहाडी जिल्लाबाट सप्तरी ल्याएर भण्डारण गरिने र कोसी नदी हुँदै भारततर्फ तस्करी गरिने योजनाअनुसार गिटी र बालुवा ले भरिएको ट्रकमा गाँजा लुकाएर भारत लैजाने तयारी गरिएको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा १७ क्विन्टल गाँजा बरामद भएको हो ।
सप्तरीका विभिन्न स्थानहरू लागूऔषध गाँजाको तस्करीका लागि लामो समयदेखि प्रयोग हुँदै आएका छन् । यो क्षेत्र बालुवा र गिटी भण्डारण गर्ने स्थलको रूपमा परिचित छ । यहाँबाट गाँजा ट्रक, डुंगा, वा अन्य साधन प्रयोग गरी भारततर्फ पठाइने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सप्तरी प्रहरीले मंगलबार (आज) पत्रकार सम्मेलन आयोजना गरी यस घटना सम्बन्धी थप विवरण सार्वजनिक गर्ने बताएको छ ।
