वीरगञ्ज । वीरगञ्जको बाइपास सडकमा सोमबार साँझ एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पानिटंकी चौक र होटल भिष्वाको बीचमा पर्ने सडकको पेटीमा अन्दाजी ५५–६० वर्षका जस्ता देखिने ती व्यक्तिलाई मृत अवस्थामा भेटिएको हो ।
स्थानियहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक छानबिनका क्रममा मृतकको पहिचान राजेश कार्की भनेर खुलेको छ । उनी दैनिकजसो मागेर हिँड्ने व्यक्ति रहेको र कहिलेकाहीं होटलहरूमा काम गरेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार मृतकको ठेगाना हालसम्म पत्ता लाग्न सकेको छैन । मृतकसँग सम्बन्धित अन्य विस्तृत जानकारी प्राप्त गर्न अनुसन्धान जारी रहेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिको मृत्यु चिसोका कारण स्वास्थ्य समस्या भएर भएको हुनसक्ने आशंका गरिएको छ । यसबारे पुष्टि गर्नका लागि शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।
