काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि हुदै गएको बताउनुभएको छ । सोमबार प्रेस सेन्टर जुम्लाले जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताउनुभयो ।
अदालतमा मुद्दा चलिरहेको व्यवसायीबाट पार्टी कार्यालयका लागि जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको उहाले बताउनुभयो । उहाँले अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि दिनुभयो ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा काम गर्दा संसदका पहिलो र दोस्रो दलले अस्वभाविक र अप्राकृतिकरुपमा आफूलाई हटाएको बताउनुभयो । उहाँले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्धनलाई अघि बढाएको बताउनुभयो ।
