काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर दाहालले प्रतिनिधिसभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराएको हो । प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतका आन्दोलनबारे सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् ।
यस विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गर्नुभएको छ । सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लाग्नुभएको हो । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्रीको संबोधन समावेश गरिएको छैन ।
