काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ । आइतबार काठमाडौंमा ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको समेत बताउनुभयो ।
देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्यलाई मनन गर्नुपर्ने उहाले बताउनुभयो । उहाले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम तर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’ विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । उहाले आगामी बजेटमा समेत बिज्ञान प्रविधिलाई प्राथमिकता दिइने जिकिर गर्नुभयो । त्यस्तै उहाले सूचना प्रविधि नेपालको रणनीतिक उपयोगको क्षेत्र भएकाले यस क्षेत्रको उत्पादनमा आत्मनिर्भर बन्न सबैको ध्यान पुग्न जरूरी रहेको बताउनुभयो ।
