काठमाडौं । ललितपुर प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरले एक हजारका ११५ थान नक्कली नोटसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भइ ललितपुर बस्ने महेश रोक्कालाई पक्राउ गरेको हो ।
भाद्र २८ गते ललितपुरको धोविघाटमा चेकजाच गर्दा प्रहरीले एक मोटरसाइकल चालकलाई एक हजार को एक थान नक्कली नोट सहित पक्राउ गरेको थियो । उनलाई सोधपुछ गर्ने क्रममा आफु पठाउ राइडर भएको र भक्तपुरबाट ललितपुरसम्म आउने क्रममा एक व्यक्तिले उक्त नोट दिएको बताएका थिए ।
उनको बयानप्रति विश्वस्त हुन नसकेपछि थप अनुसन्धान गर्दा उनकै कोठाबाट रंगीन फोटोकपी मेशीन र एक हजारका ११५ थान नक्कली नोट फेला परेको ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
नक्कली नेपाली रुपैयाको कारोबारमा संलग्न रोक्कालाई पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनु- सन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
