काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद नै अवरुद्ध गर्नु उचित नहुने बताउनुभएको छ ।
आइतबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सदनमा सांसदहरुले धेरै बिषयमा बोल्ने गरेको एक सांसदले बोलेको कुरालाई लिएर मात्रै संसद अवरोध गर्नु उचित नभएको बताउनुभएको हो ।
माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उहाले बताउनुभयो ।
महतले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुदा रक्षात्मक हुने कुरा उचित नभएको पनि जिकिर गर्नुभयो । सदन मा गम्भीर रुपमा छलफल गर्नुपर्ने धेरै एजेण्डा र विधेयकहरु रहेकाले छिटै निष्कर्षमा पुग्नुपर्ने उहाको भनाइ छ ।



