काठमाडौं । प्रतिनिधिसभालाई सहज रुपमा अघि बढाउने बिषयमा सभामुख देवराज घिमिरले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसंग छलफल गर्नुभएको छ ।
संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गर्नुभएको थियो । यसअघिको बैठकमा हिंसा शव्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुख को रुलिङसंगै माओवादीले विरोध जनाउदै सदन अवरद्ध गरेको थियो ।
त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले नै सदनमा निरन्तर विरोध जनाउने निर्णय गरेपछि सभामुखले छलफल गर्नुभएको थियो । छलफलपछि माओवादी केन्द्रका मुख्य सचेतक हितरात पाण्डेले माओवादी सदनमा उठारहेको बिषयबस्तुमा छलफल भएको जानकारी दिनुभयो ।
सदनलाई सहज रुपमा अघि बढाउन सभामुखले गर्नुभएको आग्रहका बारेमा पार्टीभित्र छलफल गरेर अघि बढ्ने भन्दै अहिलेसम्म पार्टीको अडान कायमै रहेको उहाले बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले सदनको गतिरोधका बिषयमा छलफल भएको र सभामुखको रुलिङलाई सवैले मान्नुपर्ने बताउनुभयो । सदनको नियमावली अनुसार सवै दलहरु अघि बढ्नुपर्नेमा आफुहरुको सुझाव रहेको उहाले बताउनुभयो ।
उहाले सदनलाई सहज रुपमा अघि बढाउने र आफ्नो कुराहरु राख्ने गरि अघि बढ्न आग्रह गरिएको जानकारी दिनुभयो । त्यस्तै बर्तौलाले उपसभामुखको बिषयमा सत्तापक्ष दलले भन्दा प्रतिपक्षी दलले नै उचालेको तर्क गर्नुभयो ।
यसमा रास्वपाले नै उपसभामुख जस्तो संस्थाको हुर्मत लिने काम गरेको र सरकारलाई नै विवादमा ल्याउने प्रयास गरेको उहाको भनाइ छ । सभामुखसंगको छलफलका क्रममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रमुख सचेतक र सचेतकहरु सहभागी थिए ।



