काठमाडौं । हिंसा शव्दका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा हिंसा शव्दलाई लिएर माओवादी र एमाले सांसदबीच वाद–विवाद भएपछि बैठक अवरुद्ध भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले केहि दिन अघि सदनमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निष्कर्ष सुनाउनुभएको थियो ।
साथै उहाले संसदमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन रुलिङ गर्नुभएको थियो । तर सभामुखको रुलिङप्रति माओवादीले आपत्ति जनायो ।
माओवादी प्रमुख सचेतक हितराज पाण्डेले संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको जिकिर गर्नुभयो । शान्तिप्रक्रिया र कानूनबिपरित शव्द चयन नगर्न उहाले सुझाव दिनुभयो ।
त्यसपश्चात एमाले सांसद रघुजी पन्तले हिंसा भन्ने शव्द असंसदीय नभएको भन्दै सभामुखको रुलिङमा प्रश्न उठाउने ठाउ नरहेको बताउनुभयो । पन्तले धारणा राखेपछि माओवादी सांसदहरु थप अन्सन्तुष्ट भएका थिए । उनीहरुले उठेरै हिंसा शव्दप्रति आपत्ती जनाएका थिए ।
सभामुख घिमिरेले बसेर सभा सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरेपनि दुईपक्षीबीच वादविवाद भएपछि पुनः माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न समय दिइएको थियो । पाण्डेले हिंसा शव्दका बिषयमा भएको व्याख्या स्वीकार्य नहुने भन्दै आपत्ति जनाउनुभयो ।
पाण्डेले बोलेपछि समय पाउनुभएका एमाले प्रमुख सचेतक महेश बर्तौलाले हिंसा अन्त्य गर्ने भनेर तत्कालिन समयमा माओवादी अध्यक्ष प्रचण्डले नै हस्ताक्षर गरेको तर्क गर्नुभयो । संविधानले सशस्त्र द्वन्द्व भनेपनि हिंसाको क्रममा जघन्य अपराध भएको समेत उहाले आरोप लगाउनुभयो ।
बैठकमा सभामुख घिमिरेले बहसले निष्कर्ष निस्कन नसक्ने भएकाले आसन ग्रहण गरेर नियमित ढंगले अघि बढाउन आग्रह गरेपनि माओवादी सांसदहरुले हिंसा शव्दको प्रतिवाद गरिरहे । आफुले पटक पटक आग्रह गर्दा पनि सभासञ्चालनका लागि सहयोग नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते सम्मका लागि स्थगित गर्नुभएको थियो ।
