काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्ता गठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो ।
बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताउनुभयो । उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखिएको भनिएको पत्रबारे संसद्मा स्पष्टीकरण दिन पाउनुपर्ने निर्णय गरेको छ ।
यस बिषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । लामिछानले सहकारी प्रकरणमा आफुमाथि लगाएको आरोप विरुद्ध बोल्ने ठाँउ रहेको भन्दै अन्य सहकारी पिडितहरुको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
पोखरामा आफुलाई देखाइएको कालोझण्डा सहकारी पिडितको पिडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न आफु तयार रहेको उहाले बताउनुभयो । लामिछानले दुईतिहाईको बलमा सदनमा कुनै अप्रिय काम गर्न खोज जनताले प्रतिकार गर्ने धारणा राख्नुभयो ।
त्यस्तै रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघि लेखिएको पत्रलाई लिएर उपसभामुखलाई हटाउने काम गलत भएको बताउनुभयो । उहाले संवैधानिक परिषदलाई आफ्नो अनुकुल बनाउनका लागि सत्तागठबन्धनले उपसभामुख हटाउन खोजेको जिकिर गर्नुभयो । उहाले उपसभामुखका बिषयमा कुनै औपचारिक कदम नचालिएकाले पर्ख र हेरको अवस्थामा पार्टी रहेको बताउनुभयो ।
