काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।
आइतबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले संविधान संशोधनको विरोधी आफुहरु नभएको भन्दै समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन भने हुन नसक्ने बताउनुभएको हो ।
जनताले पाएको अधिकार उल्ट्याउने गरी र समानुपातिक र समावेशी प्रणालीलाई राष्ट्रिय सभामा लाने गरि संसोधन गर्न खोजिए सहमत हुन नसकिने उहाको भनाइ छ । प्रचण्डले जनताले पाएको अधिकार अझै थप्ने गरी गरिने संविधान संसोधनमा आफुहरुको सकारात्मक समर्थन नै हुने तर्क गर्नुभयो ।
त्यस्तै उहाले अहिले माओवादीको ध्यान सरकार बनाउनेतर्फ नरहेको र नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ साल सम्म जारी राखे आफुहरुलाई पार्टीसुदृढ र संगठित गर्न सजिलो हुने धारणा राख्नुभयो ।
उहाले अहिलेको गठबन्धनको सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि निर्माण भएको आरोप समेत लगाउनुभयो । प्रचण्डले आफुले देशलाई बंगलादेश बनाउछु भनेर कहिल्यै नभएको बताउदै वर्तमान गठबन्धनले दुइ तिहाईको दम्भ र अहंकार देखाए जनताले बंगलादेशको परिस्थिति ल्याउन सक्ने तर्फसचेत गराएको स्पष्ट पार्नुभयो ।



