काठमाडौं । गैँडाको आक्रमणबाट बर्दियामा ‘नेचर गाइड’ को मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाका मधुवन नगरपालिका वडा नम्बर ६ स्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
ठाकुरबाबा नगरपालिका-९ बस्ने ३५ वर्षीय गाइड मनमोहन चौधरीको मृत्यु भएको हो । त्यस्तै अमेरिकी नागरिकसहित दुई जना घाइते छन् । उनीहरूको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । उनीहरू दुवै जना खतरा मुक्त छन् ।
अमेरिकी नागरिक मिक लेन्डन शवन बिहीबार राति ठाकुरबाबा नगरपालिका-९ शिवपुरस्थित बर्दिया होमस्टेमा आएर बसेका थिए । शुक्रबार बिहान अन्दाजी ८ बजे शवनलाई लिएर ३५ वर्षीय गाइड मनमोहन चौधरी र ५८ वर्षीय वनका चौकीदार खिन्चु थारू जंगल वाकका लागि गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जंगल वाकमा जाँदा गैँडाले एक्कासी आक्रमण गर्दा मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।



