काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निति तथा बजेट कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहले भन्दा फरक ढंगवाट बजेट बिनियोजन गर्ने बताउनु भएको छ । चितवनको भरतपुरमा निर्माण भएको बाल आखारोग बहिरङ्ग विभाग तथा अत्याधुनिक शल्यक्रिया भबनको उद्घाटनपछि प्रचण्डले यस्तो बताउनुभएको हो । उहाले स्वास्थ्य क्षेत्रमा योपटक अधिकतम बजेट बिनियोजन गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताउनुभयो ।
संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उहाँले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनीयतामा समेत बढोत्तरी हुँदै गएको बताउनुभयो ।
त्यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा आबश्यक बजेट बिनियोजन हुन नसक्दा जनता सोचे अनुसारको सेवा दिन नसकेको बताउनुभयो । अस्पतालको नवनिर्मित भवनको भवन निर्माण समितिका संयोजक एवं नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले रु १३ करोड ५० लाखमा भवन निर्माण गरिएको बताउनुभयो ।



