सर्लाही । सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये दुई जना भारतीय र ६ जना नेपाली छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमार छन् ।
यस्तै नक्कली नोटको कारोबारमा संलग्न काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राईलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यस्तै ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार नक्कली नोटको कारोबार गर्ने गिरोह नै पक्राउ गरिएको छ ।
मधुवनी गाउँको दशनजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाए पछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गर्ने सफल भएको हो ।
घटनास्थलबाट प्रहरीले एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत पका्रउ गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । त्यस क्षेत्रमा यसअघि पनि नक्कली नोटको कारोबारी पक्राउ परिसकेका छन् ।



