काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्धत रहेको बताउनुभएको छ ।
कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा सुशासन कायम गरि आर्थिक बृद्धितर्फ अघि बढाउन ठूला दलसहितको सरकार बनेको भन्दै जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्धत रहेको बताउनुभएको हो ।
उहाले कांग्रेस–एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर गर्नुभयो । उहाले अहिलेको अवस्थालाई सुधार गर्न काम अघि बढाइरहेको भन्दै उपभोक्ता अधिकारका लागि पनि बलियो कानून बनाइने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य बस्तुको सहज र सरल आपूर्तिका लागि सरकारले पहल गरिरहेपनि व्यापारीहरुले सरकारलाई सहयोग नगरेको गुनासो गर्नुभयो ।
उहाले बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि विद्यमान कानूनलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले एक महिनाभित्रै उपभोक्ता अदालत गठन हुने जानकारी दिनुभयो । उहाले चाडपर्व नजिकिदै जादाँ कृत्रिम अभाव हुन नदिने, आन्तरिक उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्ने समेत बताउनुभयो ।
