काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकलाई छिटो पारित गर्न आग्रह गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री लेखकले विधेयकमा रहेका धेरै बिषयमा सहमति जुटिसकेकाले समितिबाट छिटो पारित गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।
मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रीत दफावार छलफल गरी निष्र्कषमा पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरु राखेपनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताउनुभयो ।
हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै उहाले स्वार्थ बाझिएको विषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाले यसअघि सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको भएपनि अहिले संविधानमा भ्रष्टाचारको बिषयमात्रै उल्लेख भएको जिकिर गर्नुभयो । यस्तो अवस्थामा अनुचित कार्यको बिषयलाई कसरी हेर्ने भन्ने प्रशन उठेको उहाले बताउनुभयो ।



